जनकपुर-अयोध्या-दिल्ली ‘वन्दे भारत’ रेल सेवा सञ्चालन गर्न सांसद अर्यालको माग



काठमाडौं, असोज २ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद उर्मिला अर्यालले जनकपुर-अयोध्या-दिल्ली बीच आधुनिक ‘वन्दे भारत’ रेल सेवा सञ्चालनका लागि पहल गर्न सरकारसँग माग गरेकी छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्यालले मधेशको समन्यायिक, आधुनिक र गतिशील सामाजिक, आर्थिक तथा राजनीतिक विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्।

उनले जनकपुर र भारतको अयोध्याबीच रहेको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन रेल सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनका अनुसार जनकपुर–अयोध्या–दिल्ली रेल सेवा सञ्चालन भए भारतको राजधानी दिल्लीबाट नेपाल आउने पर्यटक तथा तीर्थयात्रीलाई समेत आवागमन सहज हुनेछ।

अर्यालले भारत सरकारका सम्बन्धित पक्षसँग यस विषयमा छलफल गर्दा रेल सेवा सञ्चालनप्रति उनीहरू पनि सकारात्मक रहेको आफूले पाएको बताइन्।

‘जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक वन्दे भारत रेल सेवा सञ्चालनका लागि पहल गर्नुपर्छ। यसले जनकपुर र अयोध्याबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै धार्मिक पर्यटन र आवागमनलाई सहज बनाउनेछ,’ उनले भनिन्।

सांसद अर्यालले महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई विकासको मूलधारमा ल्याउन विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।

मधेशको आर्थिक विकासका लागि सबै श्रमशक्तिलाई उत्पादनमूलक रोजगारीसँग जोड्ने नीति आवश्यक रहेको उनको भनाइ छ। उनले तीव्र गतिमा पुँजी निर्माण गर्ने कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने बताइन्।

मधेशको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै अर्यालले विकास निर्माणका कामलाई शीघ्र र द्रुत गतिमा अघि बढाउन सरकारसँग आग्रह गरिन्।

उनले आफूले उठाएका विषयलाई संघीय सरकारसँगै प्रदेश तथा स्थानीय सरकारले पनि प्राथमिकतामा राखे मात्र मधेशमा समन्यायिक, आधुनिक र गतिशील सामाजिक–आर्थिक व्यवस्था निर्माण गर्न सकिने बताइन्।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रवार १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको