काठमाडौं, असोज २ । रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ। पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका ८१ जनामा झाडापखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। समीर अधिकारीका अनुसार अस्थायी आवास तथा होल्डिङ सेन्टरमा खानेपानी र सरसफाइको समस्या, व्यवस्थित शौचालयको अभाव तथा मानिसको भिडभाडका कारण संक्रमणको जोखिम बढेको हो। यद्यपि, हालसम्म झाडापखाला ठूलो प्रकोप वा महामारीको रूपमा फैलिएको अवस्था नरहेको मन्त्रालयको भनाइ छ।
रसुवाको उत्तरगया गाउँपालिकास्थित शिवालय आधारभूत विद्यालयमा बसिरहेका केही बाढी प्रभावितमा ज्वरोसमेत देखिएको छ। निलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश नेपालका अनुसार केही दिनयता होल्डिङ सेन्टरमा ज्वरोका बिरामी बढेका छन्। उत्तरगया–५ का वडाध्यक्ष एकनाथ आचार्यलाई ज्वरोका कारण थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको बताइएको छ।
सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार प्राकृतिक विपद्पछि दूषित खानेपानीका कारण झाडापखाला, हैजा र टाइफाइडजस्ता पानीजन्य रोग फैलिन सक्छन्। बाढीपछि डेंगु, लेप्टोस्पाइरोसिस, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा छालासम्बन्धी समस्या पनि बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा रोगको पहिचान तथा उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै आवश्यक औषधि तथा सामग्रीको व्यवस्था गरेको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै हैजाविरुद्धको खोपसमेत उपलब्ध गराइएको मन्त्रालयको भनाइ छ।
विज्ञहरूले बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, फोहोर व्यवस्थापन र रोगको निरन्तर निगरानीलाई प्राथमिकता दिन सुझाव दिएका छन्। उनीहरूले सुरक्षित वा उमालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन, ताजा खाना खान तथा खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुन आग्रह गरेका छन्।






