यथास्थितिमा एमाले अगाडि जान सक्दैन : योगेश



काठमाडौं, असोज २ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी यथास्थितिमा अघि बढ्न नसक्ने बताएका छन्। उनले एमालेको पुनर्जागरणका लागि नीति, संगठन, कार्यशैली र नेतृत्वमा समेत पुनरावलोकन आवश्यक रहेको बताएका हुन्।

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले पार्टीलाई नयाँपन दिनुपर्ने आवश्यकता औँल्याए।

‘अब हाम्रो पार्टी यथास्थितिमा जान सक्दैन, अब हाम्रो पार्टीमा केही न केही नयाँपन दिनुपर्छ,’ उनले भने, ‘त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, संगठनको ढाँचामाथिको पुनरावलोकन, हाम्रा व्यवहार, कार्यशैली, बोली–वचनलगायत तमाम कुराको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण हो।’

उनले यिनै प्रक्रियामार्फत एमालेको पुनर्जागरण सम्भव हुने बताए। पछिल्लो एक वर्षमा पार्टीले गरेका काम र गतिविधिको समग्र समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

भट्टराईले पार्टीले विभिन्न घटनालाई हेर्ने दृष्टिकोणमा कहाँ कमजोरी भयो भन्ने पहिचान गरी सुधार गर्नुपर्ने बताए। जनतासँगको सम्बन्ध कमजोर हुनु तथा नयाँ पुस्ताका युवाहरू पार्टीमा आकर्षित नहुनुको कारणसमेत गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने उनले बताए।

‘हामीले घटनाहरूलाई हेर्ने दृष्टिकोणमा कहाँ–कहाँ गल्ती गर्‍यौं रु त्यसलाई सच्याउने, जनतासँगको सम्बन्ध कहाँ टुट्यो रु त्यहाँ सच्याउने, नवयुवा हाम्रो पार्टीमा किन आएनन् रु त्यसलाई विश्लेषण गरेर सच्याउने,’ उनले भने।

एमालेको पुनर्जागरण र पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित कार्यदलले अहिलेसम्म निष्कर्ष दिन नसकेको पनि भट्टराईले जानकारी दिए।

उनका अनुसार कार्यदलको जिम्मेवारीअनुसार महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन आए पनि त्यसप्रति पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएका थिए। अध्यक्ष ओलीकै निर्देशनअनुसार उपाध्यक्ष बादलले अर्को प्रतिवेदन तयार पारेको र अहिले दुवै प्रतिवेदनमाथि छलफल भइरहेको भट्टराईले बताए।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको