काठमाडौं, असोज २ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व पछि सरकारविरुद्ध नयाँ आन्दोलनको तयारी भइरहेको बताएका छन्। उनले सरकारका गतिविधिविरुद्ध विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजलाई समेटेर बृहत् संयुक्त मोर्चा निर्माण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाए। त्यसविरुद्ध संयुक्त रूपमा आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
‘अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौं,’ प्रचण्डले भने।
उनले प्रस्तावित आन्दोलनका लागि विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको बताए। ती छलफल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै उनले आगामी दिनमा संयुक्त मोर्चालाई थप विस्तार गरिने संकेत गरे।
प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई वर्तमान परिस्थितिमा प्रतिक्रान्तिविरुद्ध एकताबद्ध हुन आह्वानसमेत गरे। उनले प्रतिक्रान्तिलाई परास्त गर्दै परिवर्तनका उपलब्धिलाई थप उचाइमा पुर्याउन नयाँ संकल्प आवश्यक रहेको बताए।
‘तपाईं–हामी सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ। हामी अहिले त्यही प्रक्रियामा छौं,’ उनले भने।
उनका अनुसार चाडपर्वपछि देशको राजनीतिक तथा सामाजिक परिस्थितिको समीक्षा गर्दै नयाँ आन्दोलनको स्वरूप तय गरिनेछ। त्यसका लागि आवश्यक तयारी अहिलेबाटै अघि बढिरहेको प्रचण्डले बताए।






