जनकपुरधाम, असोज ३ । नेपालको संविधान २०७२ लाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन वा पुनर्लेखन आवश्यक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले बताएका छन् ।
संविधान दिवसका दिनलाई विरोध दिवसका रूपमा मनाउँदै जसपा नेपाल धनुषाले शुक्रबार जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले संविधानले मधेश विद्रोहका भावना र मागलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको धारणा राखेका हुन् ।
वक्ताहरूले पहिलो संविधानसभाबाट सहमति जुटिसकेका कतिपय विषयलाई संविधान निर्माणका क्रममा बेवास्ता गरिएको आरोप लगाए । जनआन्दोलन, मधेश विद्रोह तथा सशस्त्र द्वन्द्वबाट प्राप्त उपलब्धिका रूपमा स्थापित संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वजस्ता विषयको संरक्षण गर्दै बाँकी अधिकार सुनिश्चित गर्न संविधान संशोधन वा पुनर्लेखनको विकल्प नरहेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा वक्ताहरूले संविधानलाई सबै समुदाय, क्षेत्र र वर्गले अपनत्व महसुस गर्ने दस्तावेजका रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनीहरूले मधेशलगायत विभिन्न समुदायले उठाउँदै आएका मागलाई सम्बोधन गरी संविधानलाई थप समावेशी र सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए ।
जसपा नेपाल धनुषाका जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष परमेश्वर साह प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्यहरू लालकिशोर साह, जीतेन्द्रकुमार यादव, रिता झा, संजय चौधरी, रामगोविन्द यादव, ममता मण्डल, कृष्णमाया तामाङ तथा मधेश प्रदेशका पूर्वप्रदेशसभा सदस्य शैलेन्द्र यादवले धारणा राखेका थिए । युवा संघका मधेश प्रदेश अध्यक्ष कमलेश यादवलगायतको पनि सहभागिता रहेको थियो ।
जसपा नेपालको केन्द्रीय निर्देशनअनुसार संविधान दिवसका अवसरमा देशभरका जिल्ला समितिहरूले संविधान संशोधनको आवश्यकता र वर्तमान संवैधानिक व्यवस्थाबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।







