काठमाडौं, असोज ३ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानबाट प्राप्त उपलब्धि संरक्षण गर्दै बाँकी कार्यभार पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका छन् ।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्नु अहिलेको प्रमुख दायित्व भएको बताएका हुन् ।
उनले संविधानले परिकल्पना गरेको राजनीतिक परिवर्तनलाई व्यवहारमा स्थापित गर्दै सामाजिक तथा आर्थिक रूपान्तरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन तथा समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
प्रचण्डले संविधान केवल कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख गरेका छन् ।
संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने बताउँदै उनले संविधानका मूल्य र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
उनले संविधानका अक्षरमा मात्र सीमित नभई यसको मूल भावना नागरिकले आफ्नो दैनिक जीवनमा अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्न सके मात्र संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन हासिल गर्न सकिने उल्लेख गर्दै प्रचण्डले संविधानको संरक्षण, कार्यान्वयन र बाँकी कार्यभार पूरा गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन् ।






