जलवायु परिवर्तन तथा प्राकृतिक विपद्को असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : खिलराज रेग्मी



काठमाडौं, असोज ३ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालले भोग्दै आएको जलवायु परिवर्तन तथा प्राकृतिक विपद्को असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् । उनले नेपालको जलवायु न्यायका लागि संयुक्त राष्ट्रसंघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वअध्यक्ष रेग्मीले कठिन परिस्थितिमा राष्ट्रिय एकता, सहकार्य र एकजुट प्रयासमार्फत विकास तथा समृद्धितर्फ अघि बढ्नु नेपालको राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका हुन् ।

उनले समयको आवश्यकता र परिवर्तनअनुसार संविधानको संरक्षण, संवर्द्धन तथा प्रभावकारी कार्यान्वयन गर्नु उचित हुने उल्लेख गरेका छन् । लामो संघर्ष र विभिन्न चरणका जनआन्दोलनबाट प्राप्त उपलब्धिका रूपमा संविधानसभाबाट २०७२ सालमा नेपाली जनताले आफ्नो संविधान आफैं निर्माण गर्न सफल भएको उनले स्मरण गरेका छन् ।

नेपाल पहाडी तथा भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले भूकम्प, बाढी, पहिरो र जलवायु परिवर्तनका असर प्राकृतिक चुनौतीका रूपमा रहेको रेग्मीले बताएका छन् । संविधान दिवसले प्राकृतिक विपद्को सामना गर्न राष्ट्रिय रूपमा एकजुट भएर अघि बढ्ने सामर्थ्य प्रदान गरोस् भन्ने उनले शुभकामना दिएका छन् ।

हालैको भोटेकोशी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै रेग्मीले ठूलो संख्यामा मानिस बेपत्ता भएको घटनाले सबैलाई मर्माहत बनाएको बताएका छन् ।

उनका अनुसार रसुवामा भएको पछिल्लो विपद् अत्यधिक वर्षाका कारण मात्र नभई हिमपहिरोका कारण भएको र यसलाई जलवायु परिवर्तनको असरका रूपमा पनि हेरिएको छ । यस्ता विपद्सँग जुध्न नेपालसँग मात्र पर्याप्त क्षमता नरहेको उल्लेख गर्दै उनले नेपाललाई जलवायु न्याय र क्षतिपूर्ति आवश्यक रहेको बताएका छन् ।

जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य बन्दै गएको भन्दै रेग्मीले जलवायु न्यायका लागि संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । साथै, दीर्घकालीन रूपमा यस्ता विपद्को सामना गर्न नेपालले आफ्नो क्षमता र पूर्वतयारीलाई समेत निरन्तर सुदृढ गर्दै लैजानुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको