काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सबै पक्षलाई समेट्ने अधिकतम प्रयास भइरहेको बताएका छन् । आज देखी शुरु भएको १५ महाविधेशन अन्तर्गतको वडा अधिवेशन उद्घाटन गर्दै सभापति थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अन्तिम समयसम्म पनि आफूले पहल जारी राखेको र विभिन्न पक्षका शीर्ष नेताहरूसँग भेटघाट तथा छलफल भइरहेको जानकारी दिए ।
थापाले राजनीतिक दलभित्रका विषय राजनीतिक रूपमै समाधान हुनुपर्ने भए पनि केही विषय अदालतसम्म पुगेको बताए । अदालतका पछिल्ला निर्णयले महाधिवेशन प्रक्रिया अघि बढाउन बाधा नरहेको उनको भनाइ थियो ।
असोज १६ गतेका लागि तोकिएको अधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै थापाले अधिवेशन सार्दा पुनः कानुनी प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने बताए । वडा तहको अधिवेशनमा सहभागी हुन छुटेका वा कुनै कारणले समेटिन नसकेका नेता–कार्यकर्तालाई पार्टी विधानअनुसार महाधिवेशन प्रक्रियामा सहभागी गराउने बाटो खुला रहेको उनले बताए ।
शनिबार कांग्रेस सभापति थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगरपालिका–२० को वडा अधिवेशन उद्घाटन गरेका थिए ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका सार्वजनिक गरेपछि महाधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो ।
कांग्रेस निर्वाचन समितिका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै सदस्यले वडा अधिवेशनमा भाग लिन पाउनेछन् । वडा अधिवेशनमा सम्बन्धित वडाका क्रियाशील सदस्य सहभागी हुनेछन् ।
वडा अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव तथा सदस्यहरू निर्वाचित गर्ने व्यवस्था छ । साथै, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन् ।
कांग्रेसको वडा अधिवेशनपछि क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । प्रत्येक वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि समान संख्यामा प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ ।
।






