एमालेभित्र शक्ति संघर्ष चर्कियो, ओली नेतृत्व जोगाउने कसरतमा



काठमाडौं, असोज ३ । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषयलाई लिएर आन्तरिक शक्ति संघर्ष चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि २१ फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिनुपर्ने र पुनर्गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठेपछि एमालेभित्र विवाद थप गहिरिएको हो ।

पार्टी पुनर्गठनका विषयमा छलफल गर्न एमालेले १५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा भएको छलफलका क्रममा स्थानीय तहदेखि नै अध्यक्ष ओलीको नेतृत्व परिवर्तनको विषय उठेको बताइएको छ । ओलीनिकट नेताहरूका अनुसार पार्टीभित्र आफ्नो नेतृत्वमाथि दबाब बढेपछि उनले विभिन्न विकल्पबारे निकटस्थहरूसँग छलफल गरिरहेका छन् ।

ओलीनिकट एक नेताका अनुसार उनले एमाले विभाजनको सम्भावनासमेत औँल्याउँदै नयाँ ढंगले राजनीतिक गतिविधि अघि बढाउनुपर्ने धारणा राखेका छन् । पार्टीभित्र विष्णु पौडेल र शंकर पोखरेल पक्षले बहुमत जुटाउन सक्ने अवस्थाबारे पनि ओलीले निकटस्थसँग चर्चा गरेको स्रोतको दाबी छ ।

ओलीले केन्द्रीय कमिटीमा आफ्नो पक्षको बहुमत कायम राख्न विभिन्न नेताहरूसँग संवाद गरिरहेको बताइएको छ । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा जिम्मेवारी बढाउनेलगायतका विषयमा केन्द्रीय सदस्यहरूलाई आफ्नो पक्षमा राख्ने रणनीति बनाइएको स्रोतको दाबी छ । आसन्न स्थानीय तहको निर्वाचनलाई समेत लक्षित गर्दै केन्द्रीय कमिटीमा आफ्नो पक्षको प्रभाव कायम राख्ने प्रयास भइरहेको बताइएको छ ।

यसैबीच ओलीनिकट केही व्यवसायीहरूले पनि एमालेका नेताहरूसँग संवाद गरिरहेको स्रोतको दाबी छ । झापाका व्यवसायी मदन अधिकारीसँग ओलीले पार्टीभित्र आफूलाई एक्ल्याउने प्रयास भइरहेको भन्दै सहयोग मागेको विवरण सार्वजनिक भएको छ । अधिकारीले ओलीसँग भएको भनिएको संवादमा एमाले विभाजन भए नयाँ राजनीतिक विकल्पबारे समेत चर्चा भएको बताएका छन् ।

यद्यपि, ओलीनिकट एमाले सचिव भानुभक्त ढकालले अध्यक्ष हटाउने विषयमा पार्टीका औपचारिक फोरममा कुनै छलफल नभएको बताएका छन् । उनका अनुसार विष्णु पौडेल र शंकर पोखरेलले औपचारिक रूपमा ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव नराखेकाले त्यसपछिका विकल्पबारे छलफलको प्रश्न नउठ्ने उनको भनाइ छ ।

ढकालले पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन संविधान दिवसपछि टुंग्याएर सचिवालय हुँदै केन्द्रीय कमिटीबाट विषयलाई निष्कर्षमा पुर्‍याइने बताएका छन् । बाहिर चर्चा भएजस्तो एमाले विभाजनको अवस्था नरहेको र केन्द्रीय कमिटीले सबै विषय समाधान गर्ने उनको दाबी छ ।

ओलीनिकट नेताका अनुसार पार्टीभित्रको संकटबीच तीन विकल्पबारे छलफल भइरहेको छ । पहिलो, पुनर्गठन कार्यदलको प्रतिवेदनलाई आधार बनाएर पार्टीभित्रै अघि बढ्ने, दोस्रो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना खोज्ने र तेस्रो, विभिन्न राष्ट्रवादी शक्तिसँग सहकार्य वा एकता गर्ने विकल्पबारे छलफल भइरहेको बताइएको छ ।

यसअघि पनि एमालेभित्र विवाद हुँदा ओलीले निकट व्यवसायीहरूसँग छलफल गर्दै आएको उदाहरण रहेको पार्टीभित्रका नेताहरू बताउँछन् । हालको शक्ति संघर्षले भने एमालेको आगामी नेतृत्व, संगठनात्मक पुनर्गठन र पार्टीको राजनीतिक दिशाबारे बहसलाई थप तीव्र बनाएको छ ।

यसैबीच पुनर्गठन कार्यदलको प्रतिवेदनबारे छलफल गर्न गुण्डुमा भएको बैठकमा ओलीले आफूलाई कमजोर नआँक्न नेताहरूलाई चेतावनी दिएको स्रोतको दाबी छ । ओलीले आफू लामो राजनीतिक संघर्षबाट आएको नेता भएको उल्लेख गर्दै आफूहरूसँग विभिन्न राजनीतिक विकल्प रहेको संकेत गरेको बताइएको छ ।

एमालेभित्रको पछिल्लो विवाद अब केन्द्रीय कमिटीको बैठकबाट कसरी टुंगिन्छ भन्ने विषयलाई पार्टीभित्र र बाहिर चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको