काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनपछि कांग्रेस फुटी सकेको दाबी गर्दै आफूहरू अझै कांग्रेसलाई एकताबद्ध बनाउने प्रयासमा रहेको बताएका छन् ।
निधिले आफ्नो समूहले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म सबै तहका अधिवेशन गर्ने तयारी गरेको जानकारी दिए । संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रिया आफूहरूले स्वीकार गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
उनले आफ्नो समूहले असोज १५ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउने र मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको बताए ।
संस्थापन पक्षले जिल्ला र प्रदेश तहका अधिवेशन नगर्ने निर्णय गरेकोप्रति प्रश्न उठाउँदै निधिले कांग्रेसको संघीय संरचनाअनुसार सबै तहका अधिवेशन हुनुपर्ने धारणा राखे ।
दुई पक्षबीच महाधिवेशन प्रक्रिया फरक ढंगले अघि बढिरहेका बेला पार्टी एकताका लागि संवादको सम्भावना भने अझै रहेको उनले बताए । सभापति गगनकुमार थापाले सार्वजनिक रूपमा असोज १६ गतेसम्म सहमतिको प्रयास गर्ने बताउँदै आए पनि आफूहरूसँग भने अहिलेसम्म संवाद नभएको निधिको भनाइ छ ।
‘विशेष महाधिवेशनबाट नै पार्टी फुटिसकेको हो । त्यसैले पार्टी एउटै छैन,’ निधिले भने, ‘अहिले हामी पार्टीलाई फेरि एउटै बनाउने प्रयास गरिरहेका छौँ ।’
आफ्नो समूहका केही नेताहरू अर्को पक्षमा गएको विषयमा निधिले त्यसलाई सम्बन्धित नेताको राजनीतिक स्वतन्त्रताको विषय भएको बताए । आफूले कसैलाई रोक्न नसक्ने उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिलाई आफ्नो राजनीतिक निर्णय गर्ने अधिकार रहेको धारणा राखे ।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा गरिरहेको निधिले बताए । सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा दिएकाले आफूहरू न्याय पाउनेमा आशावादी रहेको उनको भनाइ छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै पार्टीको विवरण अद्यावधिक गरेको निर्णय गलत भएको निधिले दाबी गरे । आधिकारिकतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला पर्खनुपर्ने उनले बताए ।
राजनीतिक सहमतिका लागि हालसम्म कुनै ठोस संवाद नभएको उल्लेख गर्दै निधिले अदालतको अन्तिम निर्णयपछि परिस्थितिअनुसार थप कदम चाल्ने बताए ।






