काभ्रेपलाञ्चोक, असोज ३ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँटको सहमति भइसकेको भन्ने चर्चामा सत्यता नरहेको बताएका छन् ।
शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पुनले एमालेभित्र जारी आन्तरिक बहस र छलफल टुंगिनुअघि पार्टी एकताको अवस्था नरहेको स्पष्ट पारेका हुन् ।
उनका अनुसार एमालेसँग प्रदेश सरकारमा सहकार्य भइरहेको भए पनि भविष्यमा पार्टी एकता गर्ने विषयमा नेतृत्व तहमा सामान्य छलफल भए पनि तत्काल एकता वा पद बाँडफाँटका विषयमा कुनै सहमति नभएको हो ।
‘एमालेसँग प्रदेश सरकारमा सहकार्य भएको छ । भविष्यमा पार्टी एकता गर्ने विषयमा नेतृत्व तहमा कुराकानी भए पनि एकता र पद बाँडफाँटमा केही कुरा भएको छैन,’ पुनले भने ।
उनले तत्काल पार्टी एकता र जिम्मेवारी बाँडफाँटको विषयमा सार्वजनिक भएका चर्चालाई राजनीतिक यथार्थसँग नमिल्ने दाबी गरे ।
पुनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वामपन्थी शक्तिहरूसँग सहकार्य जारी रहने बताए । आवश्यक परेको अवस्थामा नेपाली कांग्रेससँग समेत सहकार्य गर्न सकिने उनको भनाइ थियो ।
संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पुनले मुलुकका राजनीतिक घटनाक्रमअनुसार सहकार्यका क्षेत्र विस्तार हुन सक्ने संकेत गरे ।
उनले संविधान निर्माणका क्रममा कुनै त्याग, बलिदान वा भूमिका नरहेका शक्तिहरू अहिले सरकारमा रहेको टिप्पणीसमेत गरे । संविधान निर्माणका उपलब्धिको संरक्षण र लोकतान्त्रिक मूल्यको रक्षा गर्न राजनीतिक दलहरू जिम्मेवार भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।






