भोटेकोसी बाढीपछिको खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न रास्वपाको आग्रह



काठमाडौं, असोज ४ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोसी बाढीपछि जारी खोज, उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ।

आइतबार काठमाडौंको चःमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले विपद्पछिको खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकमा सरकारका प्रतिनिधिले भोटेकोसी बाढीपछिको खोज, उद्धार तथा राहतको अवस्थाबारे सचिवालयलाई जानकारी गराएका थिए। खोज तथा उद्धारको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनर्स्थापनाका कामसमेत समानान्तर रूपमा सञ्चालन भइरहेको जानकारी बैठकमा गराइएको प्रवक्ता खरेलले बताए।

रास्वपाले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण तत्काल अघि बढाएर पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ। त्यस्तै, अझै सम्पर्कविहीन नागरिकको अवस्थाबारे यथाशीघ्र यकिन गर्नुपर्ने बैठकको निष्कर्ष छ।

शव पहिचान तथा राहत वितरणमा कानुनी समस्या देखिए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा प्रक्रिया सहज बनाउनुपर्ने रास्वपाले जनाएको छ।

बैठकले विपद्का कारण स्थगित गरिएका पार्टीका गतिविधिहरू आइतबारदेखि नै पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको प्रवक्ता खरेलले जानकारी दिए।

गत भदौ १० गते आएको भोटेकोसी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि विभिन्न निकायले खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका काम जारी राखेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको