एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दै, प्रतिवेदनमा सहमति जुटाउने प्रयास



काठमाडौं, असोज ४ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल को सचिवालय बैठक आज बस्दैछ। कार्यदलभित्र पार्टी पुनर्गठनबारे फरक–फरक धारणा देखिएपछि साझा निष्कर्षसहितको प्रतिवेदन तयार गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको सचिवालय बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ।

कार्यदलमा यसअघि सहमति जुट्न नसकेपछि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार गरेका छन्। कार्यदलका सदस्य नरहेका ज्ञवालीले तयार पारेको २९ पृष्ठ लामो प्रतिवेदन शनिबार नै सम्बन्धित नेताहरूलाई पठाइएको बताइएको छ।

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा कार्यदलभित्र दुई फरक धारणा प्रस्तुत भएपछि साझा प्रतिवेदन तयार गर्ने प्रयास भइरहेको छ। कार्यदलको बैठकमा ज्ञवालीको प्रतिवेदनसमेत छलफलमा आउने बताइएको छ।

कार्यदलको बैठकपछि आजै दिउँसो १ बजे एमाले केन्द्रीय सचिवालय बैठक बस्नेछ। सचिवालय बैठकले असोज ५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिएका छन्।

केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भानिमण्डलस्थित रामबाग महलमा बस्ने तय भएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर परिणाम हासिल गरेपछि एमालेभित्र निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको बहस सुरु भएको थियो। पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायतका नेताहरूले पुनर्गठनको विषय उठाएपछि यसबारे औपचारिक छलफल अघि बढाइएको थियो।

निर्वाचन परिणामको समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव संकलन गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदलले सातै प्रदेशमा पुगेर नेता तथा कार्यकर्तासँग छलफल गरी सुझाव संकलन गरेको थियो।

त्यसपछि महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषय उठाइएको थियो। उक्त प्रस्तावमा अध्यक्ष ओली असन्तुष्ट भएपछि उनको निर्देशनमा कार्यदल संयोजक बादलले अर्को प्रतिवेदन तयार गरेका थिए, जसमा ओलीले नेतृत्व छाड्न नहुने धारणा समेटिएको थियो।

दुवै प्रतिवेदनलाई समायोजन गरी साझा निष्कर्ष निकाल्ने प्रयास भए पनि सहमति हुन सकेन। त्यसपछि अध्यक्ष ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले अर्को प्रतिवेदन तयार गरेका हुन्।

ज्ञवालीको प्रतिवेदनमा पुनर्गठन पक्षधर नेताहरूले असहमति जनाएको एमाले स्रोतको दाबी छ। अब कार्यदल, सचिवालय हुँदै यो विषय केन्द्रीय कमिटी बैठकमा समेत छलफल हुने सम्भावना देखिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार ०७:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको