काठमाडौँ, असोज ५ । जेनजी आन्दोलनका घाइतेहरूले उपचार, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थाको माग गर्दै झापामा अनसन सुरु गरेका छन्। उनीहरू विगत ६ दिनदेखि अनसनमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले बताएका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद पाठकले अनसनरत घाइतेहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार आन्दोलनका क्रममा गम्भीर घाइते भएका युवाहरूले परिचयपत्र, निःशुल्क शिक्षा, उपचार तथा न्यायको माग राखेका छन्।
सांसद पाठकका अनुसार जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीको गोली लागेर गोपाल सेढाइ र दिनेश राजवंशीको मृत्यु भएको थियो भने १०८ जना घाइते भएका थिए। घाइतेमध्ये हालसम्म ४३ जनाले मात्रै परिचयपत्र पाएको उनले बताए।
उनले आन्दोलनमा ज्यान गुमाएकालाई शहीद मान्ने तर घाइते तथा आन्दोलनमा सहभागी युवाहरूलाई बेवास्ता गर्ने अवस्था उचित नभएको भन्दै सरकारसँग तत्काल समस्या समाधान गर्न माग गरे।
पाठकले आन्दोलनका घाइते तथा विभिन्न मुद्दा लागेका युवालाई राज्यले संरक्षण र न्याय दिनुपर्ने बताए। उनले सरकारलाई घाइतेहरूको उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनका विषयमा स्पष्ट कदम चाल्न आग्रह गरे।
उनले जेनजी आन्दोलनका घाइतेलाई विशेष सम्मान तथा संरक्षणको व्यवस्था गर्नुपर्ने धारणा राख्दै उनीहरूको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।






