काठमाडौँ, असोज ५ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले जलवायु न्याय र जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिको उचित क्षतिपूर्तिका लागि तथ्य तथा प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउनुपर्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित ‘विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पार्ने असरले नेपालमा पार्ने जोखिम र जलवायु न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले जलवायु परिवर्तन न्यूनीकरणका लागि नेपालले गर्दै आएको योगदानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए।
उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र क्षतिका विषयमा वैज्ञानिक तथ्य तथा प्रमाणका आधारमा विश्व समुदायलाई जानकारी गराउनुपर्नेमा जोड दिए। नेपालले वन संरक्षण, वृक्षारोपण तथा कार्बन उत्सर्जन न्यूनीकरणका क्षेत्रमा गरेको योगदानको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्नुपर्ने उनको भनाइ छ।
नेपालले वन संरक्षण तथा वन क्षेत्र विस्तारमा हासिल गरेका उपलब्धिलाई पनि विश्व समुदायसमक्ष पर्याप्त रूपमा प्रस्तुत गर्नुपर्ने बताए। उनका अनुसार जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा नेपालको योगदान र त्यसबाट प्राप्त उपलब्धिबारे अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा आवाज उठाउन आवश्यक छ।
सहसंयोजक नेपालले आफू प्रधानमन्त्री रहेका बेला पनि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन विभिन्न पहल गरेको स्मरण गरे। सो क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावको प्रतीकका रूपमा कालो ढुंगा उपहार दिएको प्रसंग उनले उल्लेख गरे।
उनले जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो, पानीका स्रोत सुक्ने तथा हिमाली क्षेत्रमा असर बढ्दै गएको बताए। यस्ता जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
नेपालले जलवायु परिवर्तनबाट प्रभावित मुलुकका रूपमा आफ्ना समस्या, जोखिम र क्षतिको तथ्यांक व्यवस्थित गर्दै अन्तर्राष्ट्रियस्तरमा जलवायु न्याय तथा उचित क्षतिपूर्तिका लागि निरन्तर कूटनीतिक पहल अघि बढाउनुपर्ने बताए






