काठमाडौँ, असोज ५ । अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै गएपछि नेपाल र भारतका मौसम पूर्वानुमान निकायले चक्रवातको सम्भावनालाई निगरानीमा राखेका छन्। प्रणाली थप शक्तिशाली बनेमा सोमबार नै चक्रवातमा परिणत हुनसक्ने सम्भावना रहेको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणाली चक्रवातमा परिणत भएर नेपालमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले नै निश्चित भइसकेको छैन। प्रणाली निरन्तर निगरानीमा रहेको र हालसम्मका प्रक्षेपणले नेपालमा समेत असर पर्न सक्ने देखाए पनि प्रभावको मात्रा र क्षेत्रबारे यकिन गर्न केही दिन कुर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अन्डमान सागर आसपास न्यूनचापीय क्षेत्र विकसित भएको पुष्टि भए पनि यो प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै बंगालको खाडी हुँदै नेपालतर्फ प्रभाव पार्ने हो वा उत्पत्ति भएकै क्षेत्रमा कमजोर हुने हो भन्ने स्पष्ट हुन बाँकी छ।
उनका अनुसार चक्रवात बने पनि त्यसले प्रत्यक्ष रूपमा नेपाल प्रवेश गर्ने होइन। चक्रवात भारतको उत्तरपश्चिम क्षेत्रमा पुगेपछि त्यसबाट उत्पन्न जलवाष्प न्यूनचापीय प्रणालीका रूपमा नेपालतर्फ आउन सक्नेछ। चक्रवात कुन स्थानमा पुग्छ र त्यसको शक्ति कति हुन्छ भन्ने आधारमा मात्रै नेपालका कुन क्षेत्रमा कति प्रभाव पर्न सक्छ भन्ने आकलन गर्न सकिने उनले बताए।
मौसमविद् लामिछानेले अहिले नै नेपालमा भीषण वर्षा हुने निष्कर्षमा पुग्न नसकिने भन्दै सतर्क रहन आग्रह गरेका छन्। धानबाली भित्र्याउने समय भएकाले तत्काल धान नकाट्नसमेत उनले किसानलाई सुझाव दिएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भने उक्त प्रणालीको प्रभाव नेपालमा तुलनात्मक रूपमा बलियो हुनसक्ने सम्भावना देखिएको बताएका छन्। विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययन गर्दा भारतको पन्जाब, हरियाणा, राजस्थान र दिल्ली क्षेत्रमा मनसुन प्रणाली अन्त्य हुँदै गएको अवस्थामा नेपालमा भने मनसुन कायम रहेकाले प्रणालीको असर नेपालतर्फ मोडिन सक्ने उनको भनाइ छ।
विभिन्न मौसमी गणनाले नेपालका केही स्थानमा ५०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने सम्भावनासमेत देखाएको उनले बताए। आगामी बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना बढ्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न उनले आग्रह गरेका छन्।
मौसमविद्हरूले प्रणालीको पछिल्लो अवस्थाबारे नियमित अनुगमन भइरहेकाले आगामी केही दिनमा यसको दिशा, शक्ति र नेपालमा पर्न सक्ने प्रभाव अझ स्पष्ट हुने बताएका छन्।






