कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ गर्दा पार्टी बैठकमा ढिलाइ भयो : ओली



काठमाडौँ , असोज ५। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ गर्दा पार्टीका महत्वपूर्ण बैठकहरू प्रभावित भएको बताएका छन्।

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई नयाँ गति दिने उद्देश्यले कार्यदल गठन गरिएको भए पनि तोकिएको समयभन्दा लामो समयसम्म काम लम्बिएको बताए। उनका अनुसार कार्यदललाई एक महिनाभित्र काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो। तर, कार्यदलको काम करिब चार महिनासम्म लम्बिएपछि केन्द्रीय कमिटी बैठकसमेत समयमै बस्न नसकेको हो।

ओलीले कार्यदलको प्रतिवेदन तयार नभएसम्म सचिवालय बैठक बस्न कठिन भएको र सचिवालय बैठकपछि मात्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएकाले बैठकमा ढिलाइ भएको स्पष्ट पारे। कार्यदलले आइतबार साँझ प्रतिवेदन बुझाएपछि बैठक अघि बढाउने बाटो खुलेको उनले बताए।

अध्यक्ष ओलीले कार्यदलले तयार पारेको प्रतिवेदनलाई ध्यानमा राखेर आफूले पनि छुट्टै प्रतिवेदन तयार पारेको जानकारी दिए। केन्द्रीय कमिटी बैठकमा उक्त प्रतिवेदनसहित पार्टीको निर्वाचन समीक्षा, संगठनात्मक अवस्था र आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ।

यसैबीच एमालेले केन्द्रीय कमिटी बैठकलाई व्यवस्थित बनाउन सदस्यहरूका लागि बोल्ने समयसमेत निर्धारण गरेको छ। बैठकमा बोल्न चाहने प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको अध्यक्ष ओलीले जानकारी दिए। निर्धारित समयमा आफ्ना सबै धारणा राख्न नसक्ने सदस्यले लिखित रूपमा सुझाव तथा धारणा बुझाउन सक्ने व्यवस्था गरिएको छ।

ओलीले बैठकमा विषय केन्द्रित भएर धारणा राख्न सदस्यहरूलाई आग्रह गरेका छन्। साथै, मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन ल्याउन रोक लगाइएको छ। मोबाइलबाट भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने वा बैठकलाई लाइभ गर्ने कार्यसमेत गर्न नपाइने उनले स्पष्ट पारे।

बैठकमा आफ्नो आसन छाड्दा वा बोल्न चाहँदा अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। एमालेको केन्द्रीय कमिटी बैठक तीन दिनसम्म सञ्चालन हुने बताइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार १३:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको