काठमाडौँ, असोज ५ । नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई संवैधानिक इजलासमा पठाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ। देउवा पक्षका एक कार्यकर्ताले विचाराधीन मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको दाबी गर्दै यस्तो निवेदन दिएका हुन्।
निवेदनमा हाल तीन सदस्यीय पूर्ण इजलासमा विचाराधीन रहेको विवादलाई प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने संवैधानिक इजलासमा पठाउन माग गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले निवेदन पेश भएको तर त्यसबारे अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्। अदालत स्रोतका अनुसार निवेदन मुद्दाको फाइलसँगै प्रधानन्यायाधीशसमक्ष पेश भएको छ।
नेपालको संविधानको धारा १३७(३) अनुसार सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा प्रधानन्यायाधीशले त्यस्तो मुद्दा संवैधानिक इजलासमा पठाउन सक्ने व्यवस्था छ।
कांग्रेसको विशेष महाधिवेशनपछि उत्पन्न नेतृत्वसम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले यसअघि निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएपछि देउवा र खड्का पक्षले फैसला पुनरावलोकनको माग गरेका थिए।
गत साउन २१ गते प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित तीन सदस्यीय इजलासले उक्त फैसला पुनरावलोकनका लागि निस्सा प्रदान गरेको थियो। त्यसपछि कांग्रेससम्बन्धी विवाद पुनः सर्वोच्चमा विचाराधीन अवस्थामा छ।
यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको थियो। उक्त निर्णयपछि देउवा पक्षले न्यायिक पुनरावलोकनको माग गर्दै अदालतको बाटो रोजेको हो।
हाल मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छैन। संवैधानिक इजलासमा पठाउने निवेदनमाथि भने सर्वोच्च अदालतबाट निर्णय हुन बाँकी रहेको छ।






