विद्युत् महसुलमा लाग्दै आएको भ्याट हटाउने तयारी



काठमाडौँ, असोज ५ । सरकारले विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भएको छलफलमा विद्युत् महसुलको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको हो।

आइतबार भएको दुई मन्त्रीबीचको छलफलमा भ्याट हटाउने सहमति भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ। अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउनेसम्बन्धी विशेष प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरेका छन्।

मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि विद्युत् महसुलमा हाल लाग्दै आएको भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत विद्युत् महसुलमा भ्याट लागू गरेको थियो।

बजेट व्यवस्था अनुसार घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्दा ५ प्रतिशत भ्याट तिर्नुपर्ने व्यवस्था गरिएको थियो। त्यस्तै औद्योगिक तथा अन्य ग्राहकका लागि विद्युत् महसुलमा १३ प्रतिशत भ्याट लगाइएको थियो।

विद्युत् महसुलमा भ्याट लागू भएको करिब दुई महिनामै सरकारले त्यसलाई हटाउने तयारी गरेको हो। भ्याट हटाउने निर्णय कार्यान्वयनमा आएपछि विद्युत् उपभोक्ताले हाल तिर्दै आएको अतिरिक्त कर हट्नेछ।

सरकारको आगामी मन्त्रिपरिषद् बैठकबाट यससम्बन्धी औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ। यद्यपि भ्याट हटाउने निर्णयको कार्यान्वयन मिति र प्रक्रियाबारे भने मन्त्रिपरिषद्को निर्णयपछि स्पष्ट हुने बताइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमवार १३:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको