सचिवालय पछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

कार्यदलको प्रतिवेदनमा ओलीका दुई आपत्ति


काठमाडौँ, असोज ५ । नेकपा एमालेको सचिवालय बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । आइतबारदेखि जारी सचिवालय बैठकलाई निरन्तरता दिँदै निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार सचिवालय बैठकले आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गर्नेछ । निर्वाचन समीक्षाका क्रममा कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि आइतबारको सचिवालय बैठक स्थगित भएको थियो ।

कार्यदलले तयार पारेको प्रतिवेदनका केही विषयमा अध्यक्ष ओलीले आपत्ति जनाएपछि सचिवालयमा सहमति जुट्न बाँकी रहेको एमाले स्रोतले जनाएको छ । विशेषगरी १३ समूहबाट प्राप्त सुझावलाई कुनै थपघट नगरी प्रतिवेदनको अनुसूचीमा समावेश गर्ने विषयमा ओली असहमत रहेको बताइएको छ । प्रतिनिधि परिषद्को बैठक बोलाउने प्रस्तावप्रति पनि उनको आपत्ति रहेको स्रोतको भनाइ छ ।

तीनवटा प्रतिवेदनलाई एकीकृत गर्ने भनिए पनि कार्यदलले महासचिव शंकर पोखरेलले तयार पारेको पहिलो प्रतिवेदनलाई आधार बनाएर तीन बुँदामा संशोधन गर्दै सचिवालयमा पेश गरेको थियो । कार्यदलमा रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल र सचिव डा। राजन भट्टराईसहितका नेताहरूले अध्यक्ष ओलीका असहमत विषय हटाउन तयार नभएपछि आइतबारको बैठक टुंगोमा पुग्न नसकेको बताइएको छ ।

सचिवालय बैठकपछि आज बिहान ११ बजेबाट ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा एमाले केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । तीन दिनसम्म चल्ने बैठक २०८२ फागुनमा सम्पन्न निर्वाचनपछि पहिलोपटक बस्न लागेको हो ।

बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्ने अवसर दिने तयारी गरिएको छ । निर्वाचन परिणामको समीक्षा, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको