काठमाडौं, असोज ५। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार विदाई भेट गरेका छन्। विदाई भेटका लागि राजदूत श्रीवास्तव सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेका थिए।
भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई दिँदै नेपाल–भारत द्विपक्षीय सम्बन्ध र सहकार्य सुदृढ बनाउन पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरेको विनाशकारी विपद्का क्रममा भारतले उद्धार तथा राहतमा गरेको सहयोगप्रति विशेष आभार व्यक्त गरे। भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री उपलब्ध गराउनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ तथा फरेन्सिक विज्ञसहितको प्राविधिक टोली पठाइएको उल्लेख गर्दै उनले कठिन समयमा प्राप्त सहयोगले दुई देशबीचको मैत्री, सद्भाव र सहकार्यलाई थप बलियो बनाएको बताए।
भेटमा नयाँ प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको नेपाल–भारत संसदीय मैत्री समूह तथा त्यसबाट अघि बढाउन सकिने अन्तरसंसदीय सहकार्यका विषयमा पनि छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख अर्यालले संसदीय कूटनीतिले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै दुई देशका सांसदबीच आपसी समझदारी, अनुभव आदानप्रदान र सहकार्य विस्तारमा यसले योगदान पुर्याउने धारणा राखेका थिए।






