एजेन्सी, असोज ५ । अमेरिकाले आफ्ना नागरिकलाई ईरानको यात्रा नगर्न तथा त्यहाँ रहेका नागरिकलाई तत्काल देश छाड्न आग्रह गर्दै नयाँ सुरक्षा एडभाइजरी जारी गरेको छ।
अमेरिकी विदेश मन्त्रालयअन्तर्गत ईरानका लागि रहेको भर्चुअल दूतावासले जारी गरेको सुरक्षा अलर्टमा पश्चिम एसियाको सुरक्षा अवस्था जटिल बन्दै गएको भन्दै थप सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित सैन्य तनावका कारण उडान रद्द हुने, हवाई क्षेत्र बन्द हुने तथा सीमा आवागमनमा समस्या आउन सक्ने चेतावनी पनि दिइएको छ।
एडभाइजरीमा अमेरिकी नागरिकलाई ‘कुनै पनि कारणले ईरानको यात्रा नगर्न’ र हाल ईरानमा रहेकालाई ‘तत्काल बाहिरिन’ भनिएको छ। साथै विमानस्थल, एयरलाइन्स र सीमा नाकासम्बन्धी गतिविधिबारे नियमित जानकारी लिन आग्रह गरिएको छ।
अमेरिकाले ईरानसँग सम्बन्धित क्षेत्रीय तनाव र ईरान समर्थित हुथी समूहका गतिविधिले सैन्य टकराव थप बढ्न सक्ने जोखिम औंल्याएको छ। अमेरिकी अधिकारीहरूले ईरान वा तेहरान समर्थित समूहबाट विदेशमा रहेका अमेरिकी हित, व्यवसाय तथा संस्थामाथि जोखिम हुन सक्ने चेतावनीसमेत दिएका छन्।
अमेरिकी नागरिकलाई प्रदर्शन, ठूलो भीड तथा सुरक्षा निकायको बाक्लो उपस्थिति भएका क्षेत्रबाट टाढा रहन र आपत्कालीन अवस्थाका लागि विदेश मन्त्रालयको ‘स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम’ ९क्त्भ्ए० मा दर्ता हुन पनि आग्रह गरिएको छ।
सम्भावित हवाई हमलाको अवस्थामा झ्याल तथा काँचका ढोकाबाट टाढा रहन र आधिकारिक सूचनालाई प्राथमिकता दिन अमेरिकी नागरिकलाई सुझाव दिइएको छ।






