काठमाडौं, असोज ६ । काठमाडौंको त्रिपुरेश्वरमा बसभित्र भएको आगलागीमा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृतक चालकको नाम र ठेगाना अझै खुल्न सकेको छैन । आगलागीका क्रममा उनको शरीरको ठूलो भाग जलेको थियो ।
आगलागीपछि सुरक्षाकर्मी तथा स्थानीयवासीले उनलाई बसबाट उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएका थिए । गम्भीर अवस्थामा रहेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले घटनास्थलमा भेटिएको लाइसेन्सका आधारमा मृतक चालकलाई दावा लामा भएको हुनसक्ने बताएको थियो । तर, लाइसेन्समा उल्लेखित दावा लामाले आफू नै लाइसेन्सधारी भएको र आफू सकुशल रहेको जानकारी गराएपछि प्रहरीले मृतक व्यक्तिले उक्त लाइसेन्स दुरुपयोग गरेको हुनसक्ने आशंका गरेको छ ।
प्रहरीले मृतकको वास्तविक पहिचान खुलाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको थप विवरण तथा आगलागीको कारणबारे पनि अनुसन्धान भइरहेको छ।






