प्रतिनिधिसभाको बैठक बस्दै, चार संसदीय समितिमा पनि महत्वपूर्ण छलफल



काठमाडौं, असोज ६ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठकसँगै आज चारवटा संसदीय समितिका बैठक पनि बस्दैछन् । अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठकमा विभिन्न विषयमा छलफल हुने कार्यसूची छ ।

अर्थसमितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरिनेछ । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग समेत छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे नै बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ । बैठकमा नेपालमा स्वदेशी तथा विदेशी, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनले लगानी क्षेत्रमा पारेको प्रभाव र लगानीको वातावरणबारे छलफल गरिनेछ । साथै राष्ट्रिय तथा प्रादेशिकस्तरमा आयोजना हुने लगानी सम्मेलनको व्यवस्थापन तथा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत र कानुनी सुधारका विषयमा समेत छलफल हुनेछ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा ‘पुस्तकालय नीति’ को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ०७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको