लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन मिश्रद्वारा राजीनामा



जनकपुरधाम, असोज ६ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले पदबाट राजीनामा दिएका छन्।

मंगलबार पार्टीका संरक्षकलाई पत्र बुझाउँदै मिश्रले संघको केन्द्रीय अध्यक्षसहित आफूले सम्हाल्दै आएका सम्पूर्ण संगठनात्मक जिम्मेवारी र पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताएका छन्।

मिश्रले तत्कालीन तराई–मधेश विद्यार्थी फ्रन्टको साधारण सदस्यका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरेका छन्। त्यसक्रममा उनले क्याम्पस कमिटी अध्यक्ष, काठमाडौं उपत्यका कमिटीका कार्यवाहक अध्यक्ष, केन्द्रीय सदस्य तथा केन्द्रीय महासचिव हुँदै पछिल्लो चार वर्षदेखि लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेको बताएका छन्।

राजीनामा पत्रमा उनले मधेश आन्दोलन तथा मधेशको अधिकार र पहिचानको संघर्षमा सहभागी हुने अवसर पाएको उल्लेख गरेका छन्। संगठनका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा धेरै अनुभव र सिकाइ हासिल गरेको भन्दै उनले राजनीतिक परिस्थितिअनुसार संगठन र पार्टीको संरचनामा परिवर्तन भए पनि नेतृत्वसँगको सहकार्य लामो समयसम्म कायम रहेको बताएका छन्।

अध्यक्षको जिम्मेवारीमा रहँदा विद्यार्थीका हकहित र अधिकारका सवाल उठाउने, संगठनलाई व्यवस्थित बनाउने तथा विद्यार्थी साथीहरूसँग निरन्तर सम्पर्कमा रहने प्रयास गरेको उनले बताएका छन्। उनले आफूलाई साथ दिने अग्रज, सहकर्मी तथा सम्पूर्ण विद्यार्थीप्रति आभारसमेत व्यक्त गरेका छन्।

करिब डेढ दशक लामो विद्यार्थी राजनीतिक यात्रालाई विश्राम दिँदै अब ‘हुंकार मधेश’ नामक अभियानमार्फत अघि बढ्ने निर्णयमा पुगेको मिश्रले बताएका छन्। आगामी दिनमा युवा, समाज र मधेशसँग जोडिएका सवालमा स्वतन्त्र रूपमा काम गर्ने आफ्नो सोच रहेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

मिश्रले विद्यार्थी राजनीतिमा बिताएको समय आफ्ना लागि अनुभव र सिकाइको महत्वपूर्ण चरण भएको भन्दै यस अवधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति पुनः आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार १५:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको