काठमाडौं, असोज ६ । नेपाली कम्युनिस्ट पार्टीले विभिन्न कम्युनिस्ट घटकसँग पार्टी एकताको पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
मंगलबार बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको हो।
समितिलाई विचार र राजनीतिक दृष्टिकोण मिल्ने देशभक्त तथा गणतन्त्रवादी दल वा समूहसँग पार्टी एकताका लागि आवश्यक पहल तथा वार्ता गर्ने जिम्मेवारी दिइएको छ। पार्टीले विभिन्न कम्युनिस्ट समूहलाई समेट्दै एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित संवाद अघि बढाउने जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले एउटै कम्युनिस्ट पार्टी निर्माणको पहलस्वरूप सबै पक्षसँग वार्ता गरिने बताएका छन्।
पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले विभिन्न विषय समेटेर आठ बुँदे एजेण्डा तय गरेको छ। एजेण्डामा अन्य कम्युनिस्ट तथा विचार मिल्ने समूहलाई पार्टीमा समाहित गर्ने विषयसमेत समावेश गरिएको छ।
वार्ता समितिले सम्बन्धित दल, समूह तथा नेताहरूसँग छलफल गरी पार्टी एकताका लागि सम्भावित आधार र प्रक्रियाबारे पहल गर्ने जनाइएको छ।







