काठमाडौँ, असोज ७ । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको पत्रमा उल्लेख छ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। उक्त विधेयक संघीय संसदमा दर्ता भइसकेको छ।
यस्तै, अर्थमन्त्री डा. वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
आजै विभिन्न संसदीय समितिका बैठकसमेत बस्दैछन्। संघीय संसद्को विवरणअनुसार पूर्वाधार विकास समिति लगायतका समितिका बैठकहरू तय भएका छन्।






