काठमाडौं, असोज ७ । काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रबाट धार्मिक विधिपूर्वक लिङ्गो ठड्याएर यस वर्षको इन्द्रजात्रा सुरु भएको छ। हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याउँदै इन्द्रजात्राको औपचारिक सुरुआत गरिएको हो।
भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गर्ने परम्परा छ। लिङ्गो ठड्याउने विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ।
इन्द्रजात्रा आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा तथा देवीदेवताका पूजाआजासहित मनाउने गरिन्छ। परम्पराअनुसार यस पर्वलाई शत्रुमाथि विजय प्राप्त गरेपछि विजय उत्सव मनाउने पर्वका रूपमा समेत लिइन्छ।
इन्द्रजात्राका क्रममा भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा पुलुकिसी नाच लगायतका सांस्कृतिक प्रस्तुति गरिन्छन्। पुलुकिसीलाई देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा प्रस्तुत गर्ने गरिन्छ।
इन्द्रजात्राको मुख्य आकर्षणमध्ये जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा पनि हो। परम्पराअनुसार राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकबाट रथयात्राको अवलोकन गर्ने गर्छन्।
लिङ्गो ठड्याएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लिङ्गो ढाल्ने विधिसँगै इन्द्रजात्राको मुख्य पर्व सम्पन्न हुने परम्परा छ।
नेवार समुदायको प्रमुख सांस्कृतिक पर्वका रूपमा रहेको इन्द्रजात्रा काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइन्छ।






