चाडपर्वको मुखमा बढेको महँगीप्रति सांसदहरूको सरकारको ध्यानाकर्षण



काठमाडौं, असोज ७ । सांसदहरूले चाडपर्वको मुखमा बढेको महँगी, विपद्पछिको पुनर्स्थापनामा भइरहेको ढिलाइ तथा सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणदेखि बाढी प्रभावितको पुनर्स्थापना र सडक सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद बलावती शर्माले दशैं–तिहारको मुखमा तरकारी तथा मासुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन्। मौसमी पूर्वानुमानलाई ध्यानमा राख्दै बाढी तथा अन्य विपद्बाट नागरिकलाई जोगाउन सरकारले पूर्वतयारी गर्नुपर्ने उनको भनाइ थियो।

सांसद बुद्धरत्न महर्जनले विपद् प्रभावित परिवारहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य रहेको उल्लेख गर्दै प्रभावितका लागि एकमुष्ट राहत तथा पुनर्स्थापना प्याकेज घोषणा गर्न माग गरे।

सांसद भरतप्रसाद पराजुलीले बाढीमा बेपत्ता भएका नागरिकको अवस्थाबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताए। उनले बेपत्ता नागरिकका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

सञ्चार क्षेत्रको समस्याबारे सांसद बुद्धिप्रसाद पन्तले सरकारी विज्ञापनमा गरिएको कटौती र पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाए। स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुपर्ने उनको भनाइ थियो।

त्यस्तै, सांसद विश्वराज पोखरेलले इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरे भने सांसद बिना गुरुङले सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव र भौतिक पूर्वाधारको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद भरत गिरीले चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि प्रमुख राजमार्गको सुरक्षा अडिट तथा सवारीसाधनको फिटनेस परीक्षणलाई कडाइ गर्न सुझाव दिए।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार १५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको