काठमाडौं, असोज ७। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशको अधिवेशन एकैदिन असोज २१ गते गर्ने भएको छ।
मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको राप्रपाले जिल्ला तथा प्रदेश अधिवेशनलाई तीव्रता दिएको हो। पार्टीले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।
भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको राप्रपाले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई भने विशेष सुविधा दिएको छ। ती जिल्लालाई असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने समय दिइएको छ।
त्यस्तै, भदौ मसान्तसम्म अधिवेशन गर्न बाँकी जुम्ला र धनकुटालाई पनि असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने अवसर दिइएको पार्टीले जनाएको छ।
जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशनको तयारीमा जुटेको राप्रपाले सातै प्रदेशमा एकैदिन अधिवेशन गर्न केन्द्रीय निर्वाचन प्रतिनिधि खटाएको छ।
जसअनुसार कोशी प्रदेशमा भरत पाठक, मधेस प्रदेशमा राजाराम श्रेष्ठ, बागमती प्रदेशमा जयन्तनाथ खनाल, गण्डकी प्रदेशमा अमृत पुडासैनी, लुम्बिनी प्रदेशमा तोरणबहादुर गुरुङ, कर्णाली प्रदेशमा रमानन्द न्यौपाने र सुदूरपश्चिम प्रदेशमा श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ।
राप्रपाको विधानअनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट चयन हुनेछन्। समानुपातिक तथा समावेशी आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था रहेको पार्टीले जनाएको छ।
राप्रपाले असोज १५ गतेसम्म सक्रिय सदस्यताका लागि आवेदन तथा फाराम प्रविष्ट गर्ने समय तोकेको छ। देशभर सक्रिय सदस्यताको विवरण संकलन तथा फाराम भर्ने काम भइरहेको पार्टीले जनाएको छ।






