जनकपुरधाम, असोज ७। धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका व्यापारीहरु जनकपुर भन्सारविरुद्ध प्रदर्शनमा उत्रेका छन । गोदामबाट सामान नियन्त्रणमा लिएको विरोधमा व्यापारीहरु बुधबार बजार बन्द गरी प्रदर्शन गरेका छन्।
जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार स्थानीय व्यापारी शिवशङ्कर साहको शङ्कर शम्भु जनरल स्टोरको गोदाममा छापा मारेर विभिन्न सामान नियन्त्रणमा लिएपछि व्यापारीहरू विरोधमा उत्रिएका हुन्।
छिरेश्वरनाथ उद्योग वाणिज्य सङ्घको अगुवाइमा भएको प्रदर्शनमा व्यापारीहरूले नाराबाजी गर्दै नियन्त्रणमा लिइएका सामान फिर्ता गर्न माग गरेका छन्।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले आफूहरूले वैध रूपमा खरिद गरेका सामानको बिलबिजक हुँदाहुँदै गोदामको ताला तोडेर सामान नियन्त्रणमा लिइएको दाबी गरे। उनले कागजात अध्ययन नगरी सामान नियन्त्रणमा लिने कार्यले व्यवसायीलाई निरुत्साहित बनाएको बताए।
यादवले सामानको स्रोत र वैधताबारे आवश्यक छानबिन गरेर मात्र कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
यसअघि व्यापारी साहले पत्रकार सम्मेलन गरी आफू नियमित रूपमा कर तिर्दै आएको र गोदाममा रहेका सामानको खरिद तथा बिक्रीसम्बन्धी बिलबिजक आफूसँग रहेको दाबी गरेका थिए। उनका अनुसार गोदामबाट करिब ७५ देखि ८० लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको छ। त्यसमध्ये खर्बुजाको बीउ मात्रै करिब ३२ लाख रुपैयाँ बराबरको रहेको उनको दाबी छ।
साहले गोदाममा रहेका अधिकांश सामान नेपाली उत्पादन तथा वैध रूपमा खरिद गरिएका रहेको दाबी गर्दै आफ्नो व्यवसायका करसम्बन्धी कागजातसमेत अद्यावधिक रहेको बताएका छन्।
यता, जनकपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेलले भने भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको खुलेपछि गोदाममा छापा मारेर सामान नियन्त्रणमा लिइएको बताएका छन्।
उनका अनुसार १६ लाख ९६ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सामानमा खर्बुजाको बीउ, बदाम, पार्ले चकलेटलगायत वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ।
व्यापारी र भन्सार कार्यालयले नियन्त्रणमा लिइएको सामानको मूल्यबारे फरक–फरक दाबी गरेका छन्। सामानको स्रोत, बिलबिजक तथा वैधताबारे थप अनुसन्धानपछि घटनाको वास्तविक अवस्था स्पष्ट हुने देखिएको छ।






