बाढी प्रभावित क्षेत्रका लागि अमेरिकाको थप ३१ मिलियन डलर सहयोग



काठमाडौं, असोज ७ । अमेरिकाले नेपालमा बाढीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा उक्त सहयोग घोषणा गरेकी हुन्।

भेटमा उपसचिव हुकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेकी थिइन्।

अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न १० मिलियन डलर बराबरका स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने बताइएको छ।

त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन तथा हिउँदका लागि आवश्यक सहयोगलगायतका क्षेत्रमा ८ मिलियन डलर उपलब्ध गराउने अमेरिकी योजना छ।

बाढीपछिको विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन १३ मिलियन डलर खर्च गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनर्स्थापनाका लागि अमेरिकाले उपलब्ध गराउने कुल सहायता ३६ मिलियन डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकाले नेपाल सरकारसँग सहकार्य गर्दै प्रभावित क्षेत्रको आवश्यकता पहिचानका आधारमा आगामी दिनमा समेत थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार ०७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको