काठमाडौं , असोज ७। नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
एमालेको केन्द्रीय कमिटी बैठकमा ‘वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव’ शीर्षकको लिखित अवधारणापत्र प्रस्तुत गर्दै भट्टराईले नेतृत्व हस्तान्तरणको विषय औपचारिक रूपमा उठाएका हुन्।
पार्टीभित्र तथा आमजनसमुदायबाट प्राप्त सुझाव र निर्वाचन समीक्षा प्रतिवेदनका निष्कर्षलाई आत्मसात् गर्दै नेतृत्वले अब साहसिक निर्णय लिनुपर्ने उनको प्रस्तावमा उल्लेख छ।
भट्टराईले नेतृत्व हस्तान्तरणलाई कुनै व्यक्तिलाई हटाउने वा स्थापित गर्ने विषयका रूपमा मात्र लिन नहुने बताएका छन्। उनका अनुसार यो पार्टीको लोकतान्त्रिक संस्कार, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोडिएको विषय हो।
उनले अब आमसहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्दै तत्काल राष्ट्रिय महाधिवेशन, प्रतिनिधि परिषद्को बैठक तथा विधान महाधिवेशन आयोजना गर्नुपर्ने कार्यतालिका प्रस्ताव गरेका छन्।
त्यस्तै, पार्टीको संगठनात्मक संरचना र नेतृत्व प्रणालीलाई समयानुकूल बनाउन विधान संशोधन गर्नुपर्ने उनको माग छ।
भट्टराईले यसअघि हटाइएको उमेरहद र कार्यकालको सीमा पुनः लागू गर्नुपर्ने प्रस्तावसमेत गरेका छन्। उनले पार्टीका आठौँ, नवौँ र दशौँ महाधिवेशनमा अभ्यास गरिएका प्रावधानलाई पुनःस्थापित गर्दै अधिकतम दुई कार्यकाल र ७० वर्षको उमेरहद कायम गर्नुपर्ने बताएका छन्।
नेतृत्व हस्तान्तरणको उद्देश्य केवल व्यक्ति परिवर्तन नभई पार्टीलाई नयाँ दिशा, ऊर्जा र जीवन दिनु रहेको उल्लेख गर्दै भट्टराईले नेता–कार्यकर्ताबीच कमजोर भएको भरोसा पुनर्स्थापित गर्न पनि यस्तो कदम आवश्यक रहेको धारणा राखेका छन्।






