पूर्व मन्त्री साहलाई पिट्ने धम्की



जनकपुरधाम, असोज ८ । महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ का संघीय सांसद तथा पूर्व श्रम रोजगार मन्त्री दिपककुमार साहलाई पिट्ने धम्की दिइएको छ । महोत्तरी जिल्लाको औरही नगरपालिकाका मेयर प्रदीप कुमार खडकाले पूर्व मन्त्री तथा सांसद साहलाई पिटने पिटाउने धम्की दिएको स्रोतले जानकारी दिएका छन् ।

पूर्व मन्त्री साहले सामाजिक सञ्जाल फेसवुकमा आफूलाई आफ्नै क्षेत्रका एक मेयरले धम्की दिएको पोष्ट गरेपनि औरही नगरपालिकाका मेयर खडका रहेको भने खुलाएका छैनन् तर स्रोतले औरहीकै मेयर रहेको दावी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् –‘अहिले भर्खरै, मेरै क्षेत्रका एक जना नगर प्रमुखज्यूले फोन गरेर उहाँको पालिकाभित्रको कुनै पनि वडामा म आएँ भने पिट्ने र पिटाउने धम्की दिनुभयो । उहाँका शब्द थिए “पिट्न वा पिटाउन सकिनँ भने म मेरो बुवाको छोरा होइन ।”

केही दिन पूर्व औरही नगरपालिका केही युवाहरुले ट्रान्सफर्मरको बिषयमा औरहीका मेयर खडकालाई उनकै कार्यकक्षमा कुटपिट गरेको बिषयलाई लिएर सांसद साहलाई धम्की दिएको स्रोतको दावी छ । मेयर खडकाले उनीहरु रास्वपाको कार्यकर्ता रहेको बुझेको र उनले आज सांसद साहलाई धम्की दिएका छन् ।

सांसद साहले भने राजनीतिमा असहमति र मतभेद हुन्छन्, बहस हुन्छ । तर जननिर्वाचित जिम्मेवार पदमा बसेको व्यक्तिबाट यसरी शारीरिक आक्रमणको धम्की आउनु अत्यन्त गम्भीर विषय रहेको बताए ।

उनले भने–‘म यसलाई व्यक्तिगत विवाद बनाउन चाहन्नँ । तर मेरो सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यो घटनालाई सार्वजनिक जानकारीमा राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । कुनै पनि पालिका वा त्यसका वडा कसैको निजी क्षेत्र होइनन् । नागरिकसँग भेट्न, उनीहरूका कुरा सुन्न र आफ्नो जिम्मेवारी पूरा गर्न म जहाँ आवश्यक हुन्छ, त्यहाँ पुग्नेछु । यस्ता धम्कीले मलाई आफ्नो जिम्मेवारीबाट पछि हटाउने छैन् । हामीले बनाउने राजनीति डर, धम्की र हिंसाको होइन विचार, संवाद र लोकतान्त्रिक संस्कारको हुनुपर्छ ।’

महोत्तरीको औरही नगरपालिकाको भोइलमा बिजुलीको समस्या सामाधान गर्नुको साटो मेयर खडकाले आफ्नो कार्यकर्ता भएको ठाउमा ट्रान्सफर्मर लगाउने, बिजुलीको समस्या सामाधान गर्ने तर त्यो ठाउँमा नेपाल विद्युत प्राधिकरणले दिएको ट्रान्सफर्मर समेत अन्यत्र लग्न प्राधिकरणलाई दवाव दिएपछि सो गाउँका स्थानीयहरुले छलफल गर्न पुगेपछि त्यहाँ बिवाद उत्पन्न भएको थियो । खडकाले आफ्नो भोट आउने ठाउँको समस्या सामाधान गर्ने, पालिकावाट आउने सेवा सुविधा समेत सोही ठाउँमा लगाउने गरेका कारण सो वडाका जनता आजित भएका छन् ।

खडका रवैयाका कारण आक्रोसित स्थानीयहरुले समेत आफ्नो वडामा नगर प्रमुखलाई प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार २२:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको