काठमाडौं , असोज ८। सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ। दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो।
सर्वोच्चले दाहाललाई थुनामा राखिराख्नुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गर्दै आजैका मितिदेखि तारेखमा राख्न आदेश दिएको छ। अदालतको आदेशसँगै उनी थुनामुक्त हुने भएका छन्।
सर्वोच्चको आदेशमा दाहालले संविधान तथा कानुनविपरीत हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको उल्लेख गरिएको छ। अदालतले उनको थुनाको औचित्यसमेत परीक्षण गरेको हो।
यसअघि काठमाडौं जिल्ला अदालतले दाहाललाई पहिलो पटक तीन दिनको म्याद थप गरेको थियो। उक्त म्याद थप गर्दा बयान कार्य सम्पन्न गर्नुपर्ने आधार लिइएको भए पनि दाहालको बयान असोज ६ गते नै सम्पन्न भइसकेको सर्वोच्चले उल्लेख गरेको छ।
दाहाललाई साइबर अपराधको आरोपमा असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो। उनले सामाजिक सञ्जालमार्फत ‘ग्रे–जोन’ सम्बन्धी रिपोर्टबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए।
उनको पक्राउपछि हिरासतमा राख्ने कानुनी आधार र प्रक्रियाबारे प्रश्न उठाउँदै छोरी डेनी दाहालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै दाहाललाई अब तारेखमा राखेर मुद्दाको बाँकी कानुनी प्रक्रिया अघि बढ्नेछ।




