जनकपुरधाम, असोज ९। मौसममा बदलीसँगै शुक्रबार देशका अधिकांश भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ।
शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका अधिकांश स्थानमा तथा कर्णालीका पहाडी क्षेत्र र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ। मधेश प्रदेशका पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना छ।
शुक्रबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका अधिकांश स्थान तथा कोशी र बागमतीका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा पनि केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ भने लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
मौसममा आएको परिवर्तनसँगै पहाडी तथा तराई क्षेत्रमा बाढी, पहिरो र हावाहुरीको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।






