युवा नेतृत्व र साझा पहिचानको नारासहित ‘हुङ्कार मधेस’ अभियान घोषणा



काठमाडौं , असोज ९। मधेस केन्द्रित नयाँ राजनीतिक अभियान ‘हुङ्कार मधेस’ले युवा नेतृत्व र साझा पहिचानको नारासहित आफ्नो औपचारिक यात्राको घोषणा गरेको छ ।

प्रतिनिधिसभाको निर्वाचन पछि नै रुपान्तरण र पुस्तान्तरणको मुद्दा उठाउदै आ–आपनो दलमा संघर्ष शुरु गरेका मधेशी युवा नेताहरुले लामो तयारी पछि हुङ्कार मधेश अभियानको घोषणा गरेका हुन । भियानले अवधारणापत्रका साथै एक सय १८ जना केन्द्रीय अभियन्ताहरूको सूची समेत सार्वजनिक गरेको छ ।

‘हुङ्कार मधेस’ले नेपाललाई सार्वभौम, स्वतन्त्र र बहुभाषिक राज्यका रूपमा स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता र नागरिक सर्वोच्चताप्रति प्रतिबद्ध रहने जनाएको छ।

अभियानले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्याको समाधानका लागि संघीयतावादी, पहिचानवादी, अधिकारवादी र प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।

मधेसी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम, महिला तथा अन्य अल्पसंख्यक समुदायको पहिचानको मान्यता, समानुपातिक समावेशीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने अभियानको मुख्य उद्देश्य रहेको जनाइएको छ।

विगतका मधेस केन्द्रित राजनीतिक दल तथा आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै संविधानमा सुनिश्चित अधिकारको कार्यान्वयनमा जोड दिने अभियानले जनाएको छ। साथै संविधान संशोधन तथा परिमार्जनमार्फत शोषित र उत्पीडित समुदायका बाँकी अधिकार प्राप्तिका लागि संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

‘हुङ्कार मधेस’ले विगतका राजनीतिक शक्तिहरूमा देखिएको नेतृत्व हस्तान्तरणको अभावलाई औँल्याउँदै सक्षम, इमानदार र योग्य युवा पुस्ताको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ।

अभियानले आफूलाई केवल सामाजिक अभियानका रूपमा सीमित नराखी सभ्यतागत पुनर्जागरण, वैचारिक पुनर्निर्माण र सामाजिक रूपान्तरणको अभियानका रूपमा अघि बढाउने जनाएको छ। पूर्वीय दर्शन, सभ्यता, संस्कृति र ज्ञान प्रणालीलाई आधार बनाएर समाज, राज्य र अर्थतन्त्रको पुनर्संरचनाको अवधारणा पनि अभियानले अघि सारेको छ।

‘सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धि’लाई अभियानले आफ्नो मूल मन्त्रका रूपमा प्रस्तुत गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार १७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको