पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमै हुन्छु : महासचिव गुटेरेस



काठमाडौं, असोज ९ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री वालेन्द्र शाहसँग राष्ट्रसंघ मुख्यालयमा भएको भेटवार्ताका क्रममा महासचिव गुटेरेसले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको भेटमा महासचिव गुटेरेसले भोटेकोशी क्षेत्रमा भएको विपद्मा ठूलो जनधनको क्षति भएकामा गहिरो समवेदना व्यक्त गरेका थिए। उनले जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउँदै जलवायु संकटबाट प्रभावित मुलुकलाई सहयोग आवश्यक रहेकोमा जोड दिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गुटेरेसले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए। भेटका क्रममा उनले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै नेपालसँगको आफ्नो सम्बन्धबारे चर्चा गरेका थिए।

महासचिव गुटेरेसले आफू पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भाव र सहयोगका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिएका थिए। उनले गुटेरेसको कार्यकाल सफल रहोस् भन्दै शुभकामना पनि दिएका थिए।

प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति व्यहोर्नुपरेको जानकारी गराउँदै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएका थिए। उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको थप ध्यान आवश्यक रहेको उल्लेख गरेका थिए।

भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा प्रभावित क्षेत्रमा हरित पुनर्निर्माणका विषयमा पनि छलफल भएको थियो। जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई सुरक्षित स्थानमा पुनर्स्थापित गर्दै वातावरणमैत्री ढंगले पुनर्निर्माण अघि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै, अतिकम विकसित राष्ट्र ९एलडीसी० को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक सहयोग र समर्थनका विषयमा समेत प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबिच कुराकानी भएको थियो।

प्रधानमन्त्री शाहले त्यसपछि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकट, जलवायु न्याय र हिमालय क्षेत्रमा बढ्दो जोखिमका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार ०७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको