काठमाडौं, असोज ९। धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गएराति ढुंगासहितको पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो।
वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि रातभर राजमार्ग बन्द गरिएको थियो। आज बिहान ५ बजेदेखि यातायात सञ्चालन गर्ने तयारी भए पनि पुनः पहिरो खसेपछि सवारी आवागमन हुन सकेको छैन।
धादिङ प्रहरीले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ। लगातार वर्षा भइरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले बताएको छ।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। अहिले सोही डाइभर्सनमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको हो।
यसैबीच पहिरोका कारण कान्ति लोकपथसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक बन्द भएपछि काठमाडौं–हेटौंडा आवतजावत प्रभावित भएको छ।
कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।
देशका विभिन्न सडकखण्डमा वर्षासँगै पहिरो खस्ने क्रम बढेकाले यात्रुलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ।






