कोशी ब्यारेजमा रेड अलर्ट, ३१ वटा ढोका खोलियो



सप्तरी , असोज ९ । कोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ । ब्यारेजमा ‘रेड अलर्ट’ जारी संगै ३१ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन्।

उनका अनुसार अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन गरिएको छ। पानीको बहाव बढिरहेको भए पनि तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उनले बताएका छन्।

‘कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ। यद्यपि अघिल्ला वर्षमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो,’ सीडीओ अर्यालले भने, ‘आत्तिनुपर्ने अवस्था छैन। तर हामी अलर्टमा छौं।’

हाल कोशी पुल भएर सञ्चालन हुने सवारी साधनमा रोक लगाइएको छैन। पानीको बहाव थप बढेमा आवश्यकताअनुसार सवारी आवागमनबारे निर्णय गरिने प्रशासनले जनाएको छ।

यसैबीच मौसम विज्ञान विभागले सप्तकोशीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आगामी दुई दिनसम्म विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई नदीको बहाव र स्थानीय प्रशासनको सूचनाप्रति सचेत रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार १५:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको