ओमप्रकाश यादव
रौतहट, असोज ९ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटमा पशु चिकित्सक इन्दु यादव कार्यालय प्रमुखका रूपमा आएपछि सेवा प्रवाह, प्रयोगशाला, सरसफाइ तथा किसानसँगको समन्वयमा सुधार भएको केन्द्रले जनाएको छ।
किसानलाई सहज र प्रभावकारी सेवा दिने उद्देश्यले कार्यालयको दैनिक कार्यशैली व्यवस्थित बनाइएको केन्द्रको भनाइ छ। कार्यालय परिसरको नियमित सरसफाइसँगै प्रत्येक शुक्रबार साप्ताहिक सरसफाइ गर्ने व्यवस्था मिलाइएको छ। सेवाग्राही किसानलाई पशु उपचार, प्राविधिक परामर्श तथा अन्य सेवामा आवश्यक सहजीकरणसमेत उपलब्ध गराउन थालिएको जनाइएको छ।
यादवको नेतृत्वमा जिल्लाका १५ वटै स्थानीय तहका पशु सेवा शाखासँग नियमित समन्वय गरी पशु स्वास्थ्यसम्बन्धी समस्या पहिचान तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइएको छ। आकस्मिक रूपमा महामारीजन्य रोग देखिए तत्काल प्राविधिक टोली परिचालन र रोकथामका लागि समन्वय गर्ने प्रणालीसमेत प्रभावकारी बनाइएको केन्द्रले जनाएको छ।
प्रयोगशाला सेवामा समेत विस्तार गरिएको छ। यसअघि मुख्यतः गोबर परीक्षणमा सीमित सेवा अहिले पिसाब, रगत र दूध परीक्षणसम्म विस्तार गरिएको छ। कुखुराजन्य रोगको निदानका लागि पोस्टमार्टेम तथा रेपिड टेस्टको व्यवस्था गरिएको छ। साल्मोनेला र माइकोप्लाज्मा परीक्षणका लागि एब्त् त्भकत सञ्चालनमा ल्याइएको छ भने कल्चर तथा एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षणको तयारी भइरहेको केन्द्रले जनाएको छ।
किसान लक्षित अनुदान कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ। गत आर्थिक वर्षमा ५५ प्रतिशतभन्दा बढी बजेट खर्च भएको केन्द्रले जनाएको छ। पाँच समूहका २० सदस्यलाई दुई–दुईवटा बाख्रा वितरण, नौ कृषक समूहलाई घाँस खेतीका लागि ५० प्रतिशत अनुदान तथा चार कृषकलाई पाडा पालनका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ।
यसैगरी जिल्लाका १५ वटै स्थानीय तहमा खोरेत, लम्पी स्किन र पीपीआरविरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गरिएको छ।
रोग लागेपछि उपचार गर्नेभन्दा रोकथामलाई प्राथमिकता दिँदै खोप, प्रयोगशाला परीक्षण, प्राविधिक परामर्श र किसानसँगको समन्वयलाई एकीकृत रूपमा अघि बढाइएको केन्द्रले जनाएको छ।






