काठमाडौं, असोज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा थ्रेट रहेको भन्दै प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालय टेकुमा राखेको छ ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षा जोखिम देखिएपछि कार्यालयमा ल्याएर राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार जबरालाई राति नै कार्यालयमा ल्याइएको हो ।
जबरालाई नियन्त्रणमा लिनुको कारणबारे सोध्दा एसएसपी खड्काले सुरक्षा थ्रेटका कारण राति नै केही हुन सक्ने अवस्था देखिएपछि सुरक्षाका लागि कार्यालयमा ल्याइएको बताउनुभयो ।
सम्बद्ध स्रोतका अनुसार जबरालाई नियन्त्रणमा लिनुअघि प्रहरीले कुनै अदालतबाट पक्राउ पुर्जी लिएको थिएन । प्रहरी टोली निवासमा पुगेपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोन गरेर आफूलाई नियन्त्रणमा लिन लागेको जानकारी गराएका थिए ।
प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजी’ समूहबाट जबरालाई सुरक्षा थ्रेट रहेको भन्दै नियन्त्रणमा लिएर गएको थियो । उनका अनुसार जबरालाई अहिले अपराध अनुसन्धान कार्यालय टेकुमै राखिएको छ ।
जबरालाई भेट्न समेत प्रहरीले अनुमति नदिएको उनी निकट स्रोतले जनाएको छ । उनका छोरा भने भेटका लागि टेकु पुगेका छन् ।
जबरालाई प्रहरीले कुन कानुनी आधारमा नियन्त्रणमा लिएको हो भन्ने विषयमा भने थप स्पष्ट विवरण सार्वजनिक भएको छैन




