बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित



काठमाडौं, असोज ११ । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका देशका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ ।

नेपाल टेलिकमका अनुसार असोज ८ गतेदेखि परेको निरन्तर वर्षा र हावाहुरीका कारण केही स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको हो । भारी वर्षा र पहिरोका कारण प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न समेत कठिनाइ भइरहेको कम्पनीले जनाएको छ ।

वर्षा र पहिरोका कारण विभिन्न स्थानमा अप्टिकल फाइबरमा क्षति पुगेको तथा विद्युत् आपूर्तिमा अवरोध हुँदा सेवा सञ्चालनमा समस्या देखिएको टेलिकमले जनाएको छ । हिमपात, वर्षा तथा बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा समेत केही स्थानमा सेवाप्रभावित भएको कम्पनीको भनाइ छ ।

नेपाल टेलिकमले सिस्टमबाटै गर्न सकिने मर्मतसम्भारका काम निरन्तर गरिरहेको जनाएको छ । सम्भव भएका स्थानमा प्राविधिक रूपमा सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

मौसममा सुधार आएलगत्तै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गर्न आवश्यक तयारी गरिएको टेलिकमले जनाएको छ ।

सेवा प्रभावित हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गर्दै विपद्को कठिन परिस्थितिमा ग्राहकले देखाएको धैर्यताप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ११, आइतवार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको