काठमाडौं, असोज १३। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का जबरा पक्राउबारे जवाफ दिन राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्कालाई बोलाएको थियो। आयोगको पत्राचारपछि खड्का मंगलबार पुल्चोकस्थित आयोगको कार्यालय पुगेका हुन्।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले एसएसपी खड्का आयोगको कार्यालयमा उपस्थित भएको पुष्टि गरेका छन्।
जबरालाई प्रहरीले शनिबार मध्यराति काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई करिब १२ घण्टा प्रहरी नियन्त्रणमा राखिएको थियो। त्यसपछि प्रहरीले उनलाई रिहा गरेको थियो।
जबराको पक्राउबारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोली काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको थियो। तर, आयोगको टोलीलाई जबरासँग भेट गर्न नदिएपछि टोली त्यहाँबाट फर्किएको थियो।
घटनाबारे थप जानकारी तथा स्पष्टीकरण लिन आयोगले एसएसपी खड्कालाई पत्राचार गरेको हो। सोही पत्रका आधारमा खड्का आयोगमा उपस्थित भएका छन्।
आयोगले जबरालाई पक्राउ गर्नुको कारण, पक्राउको प्रक्रिया तथा प्रहरी नियन्त्रणमा राखिएको अवधिबारे जानकारी लिन सक्ने बताइएको छ।




