काठमाडौं, असोज १४ । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया सरकारले अघि बढाइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको जानकारी दिएका छन्।
बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। राम लामाले बताए। उनका अनुसार प्रधानमन्त्रीले रासायनिक मल कारखाना स्थापना गर्न सरकारले छिट्टै प्रस्ताव आह्वान गर्ने बताएका थिए।
छलफलमा प्रधानमन्त्री शाहले मल कारखानासहित विद्युत् खपत बढाउने ठूला आयोजना तथा योजनालाई सरकारले प्राथमिकता दिने बताएका थिए। यस्ता आयोजनाका लागि आवश्यक सहुलियत उपलब्ध गराउने सरकारको योजना रहेको उनको भनाइ थियो।
वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेको छ। त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारसँगै भन्सारसम्बन्धी व्यवस्था सुधार गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।
नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषय लामो समयदेखि चर्चामा रहे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। विगतका सरकारले बजेटमार्फत कारखाना स्थापनाका लागि रकम विनियोजन गरे पनि योजना अघि बढ्न सकेको थिएन।
करिब साढे दुई घण्टा चलेको छलफलमा १७ जना सांसद सहभागी थिए। सांसदहरूले बाढी तथा पहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले संसद्मा उठ्ने विषय, सांसदको भूमिका र सरकारसँगको समन्वयबारे छलफल गरेका थिए।
औद्योगिकीकरणलाई गति दिन सरकारले के गर्नुपर्ने हो भन्नेबारे ठोस योजना र सुझाव दिन प्रधानमन्त्री शाहले सांसदहरूलाई आग्रह गरेका थिए। नयाँ योजना वा नीतिसम्बन्धी प्रस्ताव भए प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने र त्यस्ता प्रस्ताव लिएर आउने व्यक्ति तथा सांसदसँग सहज रूपमा छलफल गर्ने आश्वासनसमेत उनले दिएका थिए।
प्रधानमन्त्री शाहले विद्युत् उत्पादनसँगै यसको आन्तरिक खपत बढाउने विषयमा पनि सरकारको विशेष ध्यान रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाह सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुन्।




