आजदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य, दुवै सदनको बैठक बस्दै



काठमाडौं, असोज १६ । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य हुने भएको छ। अधिवेशनको अन्तिम दिन आज प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्दैछन्।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यसूची छ। अन्तिम बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनमाथि छलफल र निर्णय गर्ने कार्यक्रम रहेको छ।

प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची छ।

मन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछिन्।

प्रतिनिधिसभाको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८३’ पारित गर्ने कार्यक्रमसमेत छ।

सभामुख डोलप्रसाद अर्यालले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन्। साथै राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने कार्यक्रम छ।

राष्ट्रियसभामा दुई प्रस्ताव

राष्ट्रियसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्।

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ मा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

त्यस्तै, ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूची रहेको छ।

अधिवेशन अन्त्यसँगै संसद्का दुवै सदनमा विचाराधीन रहेका विधेयक र बाँकी संसदीय कामकारबाही आगामी अधिवेशनमा अघि बढ्नेछन्।

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रवार ०७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको