कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा छलफल



काठमाडौं, असोज १९ । नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबारदेखि सुरु भएको छ। केन्द्रीय कार्यसमितिको बैठकले बन्दसत्रमा प्रस्तुत गरिने एजेन्डा पारित गरेपछि प्रतिनिधिहरूलाई विभिन्न समूहमा विभाजन गरेर छलफल अघि बढाइएको हो।

कांग्रेसले बन्दसत्रका लागि प्रतिनिधिहरूलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन क्लस्टरमा विभाजन गरेको छ। त्यसका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहबाट आएका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरी छलफल सञ्चालन भइरहेको छ।

कांग्रेसका अनुसार हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णालीका २९९ र गण्डकीका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्।

त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्।

तराई–मधेस हलमा मधेस प्रदेशका १ हजार २५६, सुदूरपश्चिमका ६५०, जनसम्पर्क समितिका २४५ तथा भ्रातृ संगठनका २२५ गरी २ हजार ३७६ प्रतिनिधि सहभागी छन्।

बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कांग्रेसले जनाएको छ। त्यस्तै, महामन्त्रीले पेस गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापतिले प्रस्तुत गरेको समसामयिक प्रस्ताव पनि छलफलका प्रमुख विषय रहेका छन्।

प्रतिनिधिहरूले सम्बन्धित क्लस्टरमा प्रस्ताव तथा प्रतिवेदनमाथि धारणा राख्नेछन्। छलफलबाट आएका सुझाव र निष्कर्षका आधारमा महाधिवेशनका प्रस्तावलाई अघि बढाइने कांग्रेसले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि अघि बढिरहेको छ। महाधिवेशनस्थल काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार १४:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको