एजेन्सी, असोज १९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले खैबर पख्तुनख्वाबाट इस्लामाबादतर्फ ‘लङ मार्च’ सुरु गरेको छ। सरकार र पीटीआईबीच भएको वार्ता निष्कर्षविहीन भएपछि आइतबार मार्च सुरु गरिएको हो।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीको नेतृत्वमा लक्की मारवतस्थित गान्डी चोकबाट मार्च सुरु भएको पीटीआईले जनाएको छ। मार्चमा ५ हजारभन्दा बढी समर्थक सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अफ्रिदीले मार्चको पहिलो चरण खैराबादसम्म पुग्ने र त्यहाँ आगामी कदमबारे घोषणा गर्ने बताएका छन्। खैराबादमा अक्टोबर ८ मा पुग्ने योजना रहेको जनाइएको छ।
मार्च रोक्ने विषयमा पाकिस्तानी सरकार र पीटीआईबीच शुक्रबार र शनिबार दुई चरणमा वार्ता भएको थियो। शनिबार साँझ सुरु भएको दोस्रो चरणको वार्ता लामो समयसम्म चले पनि आइतबार बिहान सहमति हुन नसकी टुंगिएको हो।
पीटीआईले जेलमा रहेका इमरान खानसँग तत्काल भेट गर्न दिनुपर्ने, उनलाई उपचारका लागि अस्पताल लैजानुपर्ने र निजी चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन दिनुपर्नेलगायत माग राखेको छ। वार्तामा यी विषयसँगै खैबर पख्तुनख्वाको सुरक्षा तथा आतंकवाद नियन्त्रणसम्बन्धी विषयमा समेत मतभेद देखिएको थियो।
सरकारले भने इस्लामाबादमा प्रदर्शनका कारण अवरोध हुन नदिने बताउँदै आएको छ। राजधानी प्रवेश गर्ने प्रमुख मार्गमा सुरक्षा व्यवस्था कडा पारिएको र अवरोधका लागि कन्टेनर राखिएको समाचारहरूमा उल्लेख छ।
इमरान खान सन् २०२३ देखि रावलपिन्डीस्थित अदियाला जेलमा छन्। उनीविरुद्ध विभिन्न मुद्दा चलिरहेका छन् भने पीटीआईले उनका विरुद्धका कानुनी कारबाहीलाई राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आएको छ।







