काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्र आजदेखि सुरु हुँदैछ। काठमाडौंको खुलामञ्चमा हुने बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदन तथा प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ।
महाधिवेशनमा करिब ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षलगायतका प्रतिवेदन पेस हुनेछन्। प्रतिनिधिहरूलाई समूह बनाएर प्रतिवेदनमाथि छलफल गराउने तयारी गरिएको छ।
यसैबीच कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि अघि बढ्ने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि साँझ ६ः३० बजेसम्म नामावलीमाथि दाबी–विरोधका लागि समय दिइएको छ। आजै राति ८ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक अन्तिम नामावली प्रकाशन, दाबी–विरोध तथा त्यसपछि संशोधित नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सो दिन उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ। मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ। मतदान सकिएपछि मतगणना सुरु गर्ने तयारी छ।
यसपटकको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नगरी परम्परागत मतपत्रमार्फत मतदान गराउने तयारी रहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा उद्घाटन भएको हो। महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।






