वरिष्ठताक्रम मिचेर सर्वोच्चमा चार न्यायाधीश सिफारिस

सपना प्रधान मल्ल र महेश नेपालको फरक मत


काठमाडौं, असोज २० । न्यायपरिषद्ले वरिष्ठता, अनुभव र कार्यक्षमताको मूल्यांकनमा प्रश्न उठ्ने गरी सर्वोच्च अदालतमा चार जना न्यायाधीश सिफारिस गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका एक मुख्य न्यायाधीशसहित चार जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।

सिफारिसमा पोखरा उच्च अदालतका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन्। सर्वोच्चमा पाँच जनासम्म सिफारिस गर्न मिल्ने भए पनि परिषद्ले एउटा पद रिक्त राखेको छ।

उच्च अदालतका मुख्य न्यायाधीशको वरिष्ठताक्रममा पहिलो स्थानमा रहेका बागचन्दसँगै अन्य वरिष्ठ न्यायाधीशलाई छाडेर चन्द्रबहादुर सारुको नाम सिफारिस गरिएको छ। सारुभन्दा अगाडि रहेका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी तथा न्यायाधीश दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई र टेकनारायण कुँवर सिफारिसमा परेनन्।

सारुपछि ११औँ वरीयताका जनक पाण्डे र १४औँ वरीयताका गोकर्ण डाँगीलाई सर्वोच्चका लागि सिफारिस गरिएको छ।

सिफारिसप्रति न्यायपरिषद्की वरिष्ठतम सदस्य तथा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले फरक मत राखेकी छन्। परिषद्का एक सदस्यका अनुसार उनले संविधान, कानुन र न्यायका मूल्यमान्यताअनुकूल पारदर्शी तथा वस्तुपरक आधारबिना नाम छनोट गरिएको भन्दै असहमति जनाएकी हुन्।

वरिष्ठताक्रममा रहेका लामो समयदेखि जिल्ला न्यायाधीशबाट बढुवा भएका न्यायाधीशलाई छाडेर अन्यलाई चयन गर्नु उचित नभएको तथा सिफारिसमा समावेशीपन र कानुन व्यवसायी समुदायको प्रतिनिधित्वलाई पर्याप्त ध्यान नदिइएको उनको राय रहेको बताइएको छ।

परिषद् सदस्य महेश नेपालले पनि जनक पाण्डे र गोकर्ण डाँगीको सिफारिसमा फरक मत राखेका छन्। उनले बागचन्द र सारुको हकमा भने असहमति नरहेको बताएका छन्।

सपना प्रधान मल्ल र महेश नेपालको फरक मतका बाबजुद परिषद्का अन्य सदस्यको समर्थनमा चारै जनाको नाम सर्वोच्च अदालतका लागि सिफारिस गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार १९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको